Big News- ४ हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो


बीबीसी । पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ ।

झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो । फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४,००० वटा कार बोकेको थियो ।

जर्मनीको बन्दरगाह एम्डेनबाट उक्त जहाज संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेपछि त्यसमा आगो लागेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालकदलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो ।

३,५०० मिटर तल
सबैभन्दा नजिकै रहेको फाइअल टापुको बन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले समाचारसंस्था रोएटर्सलाई बताए अनुसार समुद्रमा तेल चुहिएको थाहा भएको छैन । यद्यपि उनले जहाजको इन्धन ट्याङ्कीमा क्षति पुगेको आशङ्का भएको बताए ।

पानीमा डुबेको जहाज आन्ध्र महासागरभित्र झन्डै ३,५०० मिटर गहिराइमा पुगेको बताइएको छ । पोर्चुगलको जलसेनाले जहाजमा आगलागी हुँदा कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीलाई उद्धार गरेर एउटा होटलमा लगिएको बताएको छ । जलसेना, सो क्षेत्रमा हिँडिरहेका चारवटा अन्य पानीजहाज र पोर्चुगलको वायुसेना उद्धारकार्यमा सहभागी भएका थिए ।

कारनिर्माता कम्पनी फोक्सभागनका अनुसार उसले पठाएका कारको बीमा गरिएको थियो । रोएटर्सका अनुसार त्यसको कुल मूल्य १५।५ करोड डलरजति छ । डुबेको जहाजमा आफ्ना १८९ वटा कार भएको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका १,१०० वटा कार थिए ।

एक ग्राहकले आफ्नो पोर्श कार पनि उक्त जहाजमा भएको बताएका छन् । अर्का एक व्यक्तिले आफूले फेरि अर्को कार अर्डर गरेको भन्दै ट्वीट गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ