काठमाडौं । हाल युक्रेनमा रहेका नेपाली युवा प्रताप बस्नेत युक्रेनी सेनामा भर्ति भएर रुस विरुद्धको लड्ने भएका छन् ।
युक्रेनको भुमिमाथि हस्तक्षेप गर्ने रुसको कुनै अधिकार नभएको भन्दै उनले अन्तिम सास बाँकी रहेसम्म आफू युक्रेनका लागि लड्ने बताएका छन् ।
आफू युक्रेनी सेनामा भर्ति भएर रुसविरुद्ध लड्न लागेको भन्ने उनको भिडियो स्थानीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा समेत फैलिरहेको छ ।
‘यो युकेनको भूमि हो । युक्रेनले गर्ने निर्णयमाथि रुसलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन,’ उनले भिडियोमा भनेका छन्, ‘म युक्रेनी सेनाको क्याम्प अगाडि छु । मलाई मेरो सही निर्णयमाथि गर्व छ ।’
उनी भिडियोमा हातमा केही डकुमेन्ट बोकेर युक्रेनी सेनाको क्याम्पतर्फ जाँदै गरेका देखिन्छन् । उनले आफू नेपालको कुन ठाउँबाट हो भन्नेबारे केही बताएका छैनन् ।
उनी भन्छन्, ‘यो अवस्थाका कारण म रातभरी सुत्न सकेको छैन। यो मानवता र मानवअधिकारको कुरा हो। मैले आफूलाई सुरक्षित महशुस गरेको छैन । म युक्रेनका लागि केही गर्न चाहन्छु । म युक्रेनमा काम गर्छु । मलाई युक्रेनले धेरै दिएको छ ।’
उनी थप्छन्, ‘अप्ठ्यारो परेको बेला युक्रेनलाई सहयोग गर्नु मेरो कर्तव्य हो । त्यसैले म युक्रेनी सेनामा भर्ति हुँदैछु । मलाई गर्व छ, म मेरो अन्तिम साससम्म युक्रेनका लागि लड्ने छु ।’