सोनाक्षी सिन्हालाई पक्राउ गर्न अदालतको आदेश, यस्तो छ कारण


मुम्बइ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध ४ वर्ष पुरानो ठगी मुद्दामा पक्राउ पूर्जी जारी गरिएको छ ।

उत्तर प्रदेशको मुरादाबादस्थित एसीजेएम अदालतले सोनाक्षीविरुद्ध पैसा लिएर पनि कार्यक्रममा उपस्थित नभएको भन्दै वारेन्ट जारी गरेको हो । सोनाक्षीले कार्यक्रममा सहभागी हुन ३७ लाख रुपैयाँ लिएकी थिइन् ।

पैसा लिएर पनि सोनाक्षी कार्यक्रममा उपस्थित भइनन् र कार्यक्रम आयोजकको पैसा फिर्ता नगरेको आरोप छ ।मुरादाबादको कटघर थाना क्षेत्रमा बस्ने कार्यक्रमका आयोजक प्रमोद शर्मा थिए जसमा सोनाक्षीलाई प्रमुख अतिथिका रूपमा निम्तो दिइएको थियो ।

त्यसपछि कार्यक्रमका आयोजक प्रमोदले अभिनेत्रीसँग आफ्नो पैसा फिर्ता मागेका थिए । सोनाक्षीका प्रबन्धकले कार्यक्रम आयोजकलाई पैसा दिन अस्वीकार गरेको आरोप लगाइएको छ ।

सोनाक्षी सिन्हालाई पटकपटक सम्पर्क गर्दा पनि आयोजकले पैसा नपाएपछि उनले २०१९ फेब्रुअरीमा अभिनेत्रीविरुद्ध ठगीको उजुरी दिए ।

सोनाक्षी यस विषयमा आफ्नो बयान लिन मुरादाबाद आएकी थिइन् । उनी अदालतमा लगातार उपस्थित हुन नसकेकाले यूपीको मुरादाबादस्थित एसीजेएम ४ को अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

सोनाक्षीलाई सो विषयमा सुनुवाइका लागि अप्रिल २५ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोनाक्षी विरुद्ध फेब्रुअरी २०१९ मा यस मामिलामा एफआईआर दर्ता भएको थियो ।

निवेदकका अनुसार उनले सोनाक्षीलाई सो कार्यक्रमको पूरा पैसा दिएका थिए तर पैसा लिएर पनि सोनाक्षी कार्यक्रममा आएनन् । सोनाक्षीविरुद्ध धारा ४२०, ४०६ अन्तर्गत आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार १५:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ