पञ्जावमा केजरीवालको चमत्कारः २०१७ मा २२ सिट जितेको आप ९० सिटमा अगाडि


अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी ९आप० पञ्जावमा विस्तार भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा लगातार दुई कार्यकाल सरकार चलाइरहेको केजरीवाल यसपटक पञ्जावमा चमत्कार गरेका हुन् ।

पञ्जाव विधानसभाको जारी मतगणनामा आपले दुई तिहाइ भन्दा बढी सिटमा अग्रता लिइरहेको छ । सन् २०१७ को निर्वाचनमा जम्मा २२ सिट जितेको आपले यसपल्ट सयको हाराहारीमा जित्ने संकेत देखाएको छ ।

प्रारम्भिक मत गणनामा ९० सिटमा आपको अग्रता रहेको छ । सन् २०१७ मा ७७ सिटसहित सरकार बनाएको भारतीय कांग्रेस भने यसपल्ट नराम्ररी पछारिएको छ। कांग्रेसले जम्मा १३ सिटमा अग्रता लिइरहेको छ ।

केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपाको गठबन्धन एनडिए जम्मा ५ सिटमा अगाडि छ । पञ्जावमा आपले जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छनोट गरेको थियो ।

‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् राय मागेको थियो । ९३ प्रतिशतले भागवान्त मनलाई मुख्यमन्त्री बनाउनुपर्ने मत प्रकट गरेका थिए । अभियानमा २२ लाखको हाराहारीमा जनता सहभागी थिए ।

सन् २०१४ देखि लोकसभा सदस्य रहेका उनी २०१९ मा पञ्जाबबाट लोकसभा चुनाव जित्ने एक मात्र आप उम्मेदवार हुन् ।पञ्जावमा आपको उदयसँगै भाजपा र भारतीय कांग्रेसको विकल्पका रुपमा आप अघि बढ्न थालेको विश्लेषण भइरहेको छ ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ