NRNA निर्वाचन: आज उम्मेदवारी दर्ताको अन्तिम दिन, अहिलेसम्म कति जनाको उम्मेदवारी दर्ता ? हेर्नुस्


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ ।

निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन् । जसअनुसार बिहीबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा बद्री केसी र रविना थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता आज साँझ ५ बजेसम्म जारी रहने छ। अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सयभन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन्।

बिहीबार अबेरसम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्रीलगायत छन्।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन् यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी दिएका छन्।

महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्। महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्।

युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्। महिला संयोजकमा बेलायतबाट संगीता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन्। मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्यालको उम्मेदवारी परेको छ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन्।

युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने तथा सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् । संघको नयाँ नेतृत्वको लागि अनलाइनमार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले लिएको छ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ