प्रकाशको नयाँ गीत ‘पिर’ले माओवादीमा हलचल !


काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ले तरंग ल्याएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो ।

गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन् । माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ ।

गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा कमाइरहेको छ । केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन् ।

चुनाव नजिकिएको बेलामा माओवादी पार्टीको विरोध गरेको भनेर केहीले यसको विरोध गरेका हुन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन् ।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ ।

भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ ।

भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् ।

गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ ।भिडिओको कथा तथा निर्देशन पनि गायक प्रकाश सपुतले गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार २०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ