एलन मस्क- मोडल आमाका छोरा, एउटै अभिनेत्रीसँग दुईपटक बिहे दुवैपटक डिभोर्स


काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ४३ अर्ब डलरमा ट्विटरको पुरै स्वामित्व खरिद गर्ने अफर अघि सरे ।

मस्कले दिएको उक्त अफरबारे निर्णय भइसकेको छैन । अहिले ट्विटरको बोर्डले सल्लाहपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताएको छ । मस्कको जीवनका पाटाहरू पल्टाएर हेर्दा कथा निकै रोचक छ ।

दक्षिण अफ्रिकामा जन्मेका उनी क्यानडा हुँदै अमेरिका पुगे र त्यसपछि संसारको सबैभन्दा धनी व्यक्ति बने मस्क । मस्कको व्यक्तिगत जीवन भने अलि फरक ढङ्गको छ। उनका सात सन्तान छन् ।

एउटै महिलासँग सम्बन्ध विच्छेद गरी पुनः विवाह गर्ने र फेरि सम्बन्ध विच्छेद गर्नेमा मस्कको नाम आउँछ । हाई प्रोफाइल महिलाहरूसँग उनको नाम जोडिने गरेको छ ।

मस्कको जन्म दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो । उनको क्यानेडियन आमा र दक्षिण अफ्रिकी बुबा विवाह पछि प्रिटोरियामा बस्दै आएका थिए। मस्कले प्रारम्भिक शिक्षा त्यहीँबाट लिएका थिए ।

दक्षिण अफ्रिकामा युवाहरूलाई केही समयका लागि सेनामा भर्ना हुनु अनिवार्य थियो। तर मस्क भने सेनामा भर्ती हुन डराए। यही डरका कारण उनले दक्षिण अफ्रिका छोड्ने निर्णय गरे ।

आमाको कारणले गर्दा उनले सजिलै क्यानडाको नागरिकता पाए । पछि क्यानडाबाट ऋण र छात्रवृत्ति लिएर अमेरिका गएर भाइसँग मिलेर पहिलो कम्पनी सुरु गरे ।

एलनको आमा मोडल थिइन् । उनका बुबा इन्जिनियर थिए । दुवैले सन् १९८० मा सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद पछि, एलनका आफ्नो बुबासँग एक्लै बस्न थाले ।

विश्वविद्यालयमा पढ्दै गर्दा उनले आफ्नी पहिलो पत्नी जस्टिन विल्सनलाई भेटे र दुवैका पाँच सन्तान थिए । २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरे ।

यसपछि एलनले बेलायती अभिनेत्री तेलुला रिलेसँग डेट गर्न थाले । दुवैले २०१० मा विवाह गरे र एलनका पाँच बच्चाहरूसँग बस्न थाले। तर २०१२ मा दुवैले सम्बन्ध विच्छेद गरे र छुट्टिए ।

२०१३ मा सबैलाई चकित पार्दै दुवैले फेरि विवाह गरे । तर यो पटक पनि विवाह भने टिक्न सकेन । सन् २०१६ मा दुवै फेरि अलग भए । एलनका अहिले सात सन्तान छन् ।

एलनको नाम धेरै महिलासँग जोडिने गरेको छ। अभिनेत्री एम्बर हर्डसँग उनको सम्बन्ध निकै विवादास्पद थियो ।एम्बरको तत्कालीन पति र क्याप्टेन ज्याक स्प्यारोको भूमिका निभाएका जोनी डेपले एलन र एम्बरको सम्बन्ध रहेको आरोप लगाए । त्यस बेलासम्म एम्बर र जोनीको सम्बन्ध विच्छेद भएको थिएन।

संसारको सबैभन्दा धनी व्यक्तिको विवादसँग उनको पुरानो सम्बन्ध छ । उनी आफ्नो विवादास्पद अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने गर्छन् ।धनीहरूलाई धेरै कर लगाउन माग गरेको भन्दै उनले अमेरिकी राष्ट्रपति पदका उम्मेदवारको दौडमा रहेका बर्नी स्यान्डर्सलाई अहिले सम्म जिउँदो छौँ भनेर प्रश्न गरेका थिए । त्यस्तै उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई हिट्लरसँग समेत तुलना गरेका थिए ।

प्रकाशित : २०७९ बैशाख ३, शनिबार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ