डलरको भाउले बनायो नयाँ रेकर्ड, हेर्नुस् कति पुग्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । सोही क्रममा शुक्रबारसम्म डलरको भाउ १२८।६८ रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएको छ । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो ।

तर, ०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।

पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

बिहीबार साँझ ७ बजे (नेपाली समय)सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८०.८३ पुगेको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको यो पनि हालसम्मकै उच्च हो ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ ।

डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा पनि सकारात्मक प्रभाव पार्छ ।

प्रकाशित : २०७९ आश्विन ७, शुक्रबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ