चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय


एजेन्सी । तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो- अब बिहे कहिले गर्ने ?

दशैं-तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा उमेर पुगेका अविवाहितले यो प्रश्न झेल्नु सामान्य नै हो ।

उमेर पुगेर पनि विवाह नगर्ने र परिवार र आफन्तबाट विवाहका लागि दबाब आउने समस्या नेपालको मात्र भने होइन् । हाम्रो उत्तरी छिमेकी चीनमा पनि युवाहरूले यस्तै समस्या झेलिरहेका छन् ।

साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने/बनाउने व्यवसाय फस्टाउँदो छ । त्यसका लागि एउटा वेबसाइट खोलिएको छ, ८९वाइएन.कम ।

उक्त वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी एक युवतीसँग भेटेका छन् ।

मुमु छद्म नाम भएकी ती युवतीका अनुसार एकदिन गर्लफ्रेन्ड बनेवापत् उनले १४५ अमेरिकी डलर शुल्क लिन्छिन् । यात्रा गरेर कुनै ठाउँ जानु पर्‍यो भने थप शुल्क लाग्छ ।

मुमुले पार्ट टाइम कामका रूपमा भाडामा गर्लफ्रेन्ड बन्ने गरेको बताएकी छन् । चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक विदाका बेला गर्लफ्रेन्ड बन्नु पर्ने काम ह्वात्तै बढ्ने उनले बताएकी छन् । त्यतिबेला शुल्क पनि निकै महंगो हुने गर्छ ।

चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर गएपछि धेरै प्रश्न झेल्नु पर्दैन भनेर यस्तो उपाय लगाएका हुन् ।

यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ । ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन् ।

चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ । एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ ।

चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ ।

विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो ।

प्रकाशित : २०७९ चैत्र ७, मंगलवार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ