Breaking- विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु


न्यूयोर्क । अमेरिकाको टेनेसी प्रान्तको नासभिलस्थित एक प्राथिमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको उक्त घटनामा मारिने सबै बालबालिका ९ वर्षका छन् भने वयस्कहरु ६० वर्षभन्दा बढी उमेरकाहरु छन् । कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा २ सय विद्यार्थी अध्ययनरत थिए । उक्त विद्यालयमा ११ वर्ष उमेरसम्मका बालबालिका अध्ययन गर्छन् ।

आक्रमणकारी नासभिल निवासी २८ वर्षीया महिला रहेको र उनी सुरक्षाकर्मीको कारबाहीमा मारिएको प्रहरीले जनाएको छ । राइफल, हाते बन्दुक र पेस्तोलसहित एउटा भवनमा प्रवेश गरेकी उनले ढोकाबाट गोली चलाएको बताइएको छ ।

औड्री हल नामकी बन्दुकधारी ती महिलासँग उक्त विद्यालयको नक्सांकनका साथै एउटा घोषणापत्रसमेत भेटिएको प्रहरीले जनाएको छ । उनी उक्त विद्यालयको पूर्व विद्यार्थी भएको बताइएको छ । साथै ती महिला ट्रान्सजेन्डर भएको पनि खुलेको छ ।

यो आक्रमणको घटनापछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको संशोधनका लागि चल्दै आएको पुरानो बहसलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै आगामी शुक्रबार साँझसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

प्रकाशित : २०७९ चैत्र १४, मंगलवार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ