ऐतिहासिक सफलता : दश वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट


काठमाडौं । नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो ।

युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आशिफ शेखले नटआउट सर्वाधिक ६३ रन बनाए । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार ग रे।

कप्तान रोहित पौडेलले ३५ रनमा अविजित रहे । २१ बल खेलेका उनले ३ चौका र एक छक्का हिर्काए । गुल्सन झा २२ रन र कुशल भुर्तेलले ११ रन बनाए ।

मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६४ रनको योगदान गरे। कप्तान मोहम्मद वासिमले २६, अलिसान सरफुले १६ र असिफ खानले १३ रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी २० विश्वकप खेल्नेछ ।

जारी छनौट प्रतियोगितामा नेपाल समूह ‘ए’को उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो ।

युएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । युएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपालले उपाधिका लागि फेरि ओमानसँग फाइनल खेल्नेछ । फाइनल खेल आइतबार कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित : २०८० कार्तिक १७, शुक्रबार १५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


सम्बन्धित खबर


ताजा अपडेट


ट्रेन्डिङ