कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल


काठमाडौं । इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षतिको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन ।

कतारले इरानको हमलालाई आफ्नो ‘सार्वभौमिकता उल्लंघन’ भनेको छ। आवश्यक परे यसको जबाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको उसले जनाएको छ ।

इरानको मिसाइल आक्रमणपछि कतारले अस्थायी रूपमा हवाई क्षेत्र बन्द गर्नुका साथै आफ्नो भूमिमा रहेका अमेरिकी तथा बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही बेरमा राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सहभागी हुँदै छन् ।

अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डा कतारको राजधानी दोहाबाट नजिकै छ । यसले मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमान्डको हवाई मुख्यालयका रूपमा काम गर्छ। यहाँ करिब ८ हजार अमेरिकी सैनिक तैनाथ रहेको बिबिसीले जनाएको छ ।

बेलायती फौजहरू पनि बेला बेला तैनाथ हुन्छन् । यसलाई अबु नख्ला विमानस्थल पनि भनिन्छ । यहाँ खाडी क्षेत्रकै सबभन्दा लामो धावनमार्ग छ ।

कतारले सन् २००० मा अमेरिकालाई अल उदैद सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको थियो ।

सन् २००१ बाट अमेरिकाले त्यहाँको व्यवस्थापन लिएपछि २००२ डिसेम्बरमा दोहा र वासिङ्टनबीच एक सम्झौतामा हस्ताक्षर भयो । उक्त सम्झौताले नै अल उदैदमा अमेरिकी सैन्य उपस्थितिलाई औपचारिक मान्यता दिएको थियो ।

सन् २०२४ मा सिएनएनले गरेको रिपोर्टअनुसार अमेरिका र कतारबीच अर्को १० वर्षका लागि अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सहमति भएको छ ।

प्रकाशित : २०८२ असार १०, मंगलवार ०६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ