जनकपुरधाम, २० भदौ । मुख्यमन्त्री लालबाबु राउतले सबैको पहुँचमा शिक्षा आजको आवश्यक्ता रहेको बताउनुभएको छ ।
धनुषाको लक्ष्मीनियाँ मावि कुम्हरौडामा शुक्रबार आयोजित साईक ल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले शिक्षामा सुधार नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने दावी गर्नुभयो ।
उहाँले वर्तमान शिक्षा पद्दतीलाई बेरोजगार उत्पादन गर्ने कारखाना बताउनुभयो ।
अहिलेको शिक्षाले बेरोजगार बढाउँछ, उहाँले भन्नुभयो–‘प्राविधिक शिक्षा पद्दती ल्याउनुपर्छ ।’
प्राविधिक शिक्षा हासिल गरेको जनशक्ती कही बेरोजगार नरहेको धारणा उहाँले राख्नुभयो ।
छोरा छोरी बीचको विभेद अन्त्य गर्नको लागि प्रदेश सरकारले महिला आरक्षण ५० प्रतिशत पुर्याएको उहाँले जिकिर गर्नुभयो ।
आउँदो दिनमा मधेशको छोरी हाकिम बन्छ, प्रशासक बन्छ र प्रदेश विकासमा सहयोग गर्छ उहाँले थप्नुभयो । छोरी शिक्षित भए मात्र समाजिक विकास सम्भव रहेकोले यसलाई अंगिकार गरेर प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको उहाँले बताउनुभयो । सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान प्रभावकारी रुपमा अघि बढिरहेको दावी गर्नुभयो ।
कुनै दलले मधेशको महिलाको हक अधिकारको विषयमा चर्चा नगरेको बताउँदै उहाँले प्रदेश सरकारले महिलालाई सशक्त बनाउन विभिन्न योजनाहरु ल्याएको जानकारी दिनुभयो ।
लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा लक्ष्मीनियाँ माविका प्रअ मनोज कुमार कर्णले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा कक्षा ८ मा अध्ययनरत्त ६३ जना छात्रालाई साईकल वितरण गरिएको थियो ।