बर्दिबास, २१ भदौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको पर्यटकीय विकासको लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ ।
महोत्तरीको बर्दीवासमा नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको पर्यटकीय विकासको लागि स्थानीय प्रदेश र केन्द्र तीनै तह बीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
मुलुकमा पर्यटन वर्ष २०२० चलि रहेको अवस्थामा समेत नेपाल पर्यटन बोर्डले प्रदेश नं. २ संग विभेद गरि रहेको गुनासो पोख्दै मुख्यमन्त्री राउतले प्रदेश नं.२ लाख पाखा लगाएर पर्यटन वर्ष सफल हुन नसक्ने दावी गर्नु भयो ।
प्रदेश नं. २मा धार्मिक पर्यटनको आपार सम्भावना रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार धार्मिक पर्यटकीय करिडोर निर्माण गर्ने नितिका अघि बढेको र त्यसबाट होटेल व्यवसायले राम्रो फाइदा लिन सक्ने उल्लेख गर्नु भयो ।
दोस्रो अन्तराष्ट्रिय विमान स्थल, फास्ट ट्रयाक जस्ता पूर्वाधारहरुले प्रदेशको पर्यटन व्यवसाय ठुलो फडको मार्ने सम्भावना रहेको उल्लेख गर्नु हुँद मुख्यमन्त्री राउतले भन्नु भयो,‘ दोस्रो अन्तरािष्ट्रय विमान स्थल निजगढमै बन्छ तर त्यसको लागि संघ सरकारलाई हामी संग समन्वय गर्नु पर्दछ । विमान स्थललाई पहेली बनाएर राजनीतिक अखाडा बनाउनु हुँदैन । ’
पर्यटक संग गरिने व्यवहारमा परिवर्तन ल्याउन होटेल व्यवसायीहरुलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा रहेकै सम्पादाहरुको प्रचार प्रसार गर्न सकिए ठूलो उपलब्धि प्राप्त गर्न सकिने उल्लेख गर्नु भयो ।
महासंघका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको उद्घाटन सत्रमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजवादी पार्टी प्रदेश नं. २ संसदीय दलका उपनेता राम अशिष यादव, नेकपाका सचेतक सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सारदा थापा , वर्दीवास नगरका प्रमुख विदुर कार्की सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।