काठमाडौं,२३ भदौ । चेक बाउन्समा राष्ट्र बैंकले कडा नीति लिएको छ । निर्देशन तथा परिपत्रमा संशोधनको व्यवस्था गर्दै राष्ट्र बैंकले बैंकहरुलाई नयाँ व्यवस्था लागू गर्न भनेको हो ।
नयाँ व्यवस्थाअनुसार एकपटक भुक्तानी नभइकन फिर्ता भएको चेकको हकमा, चेक धारक ९चेकको रकम पाउनुपर्ने व्यक्ति०ले कम्तीमा दुई कार्यदिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ ।
दुई दिनपछि पनि रकम भुक्तानी नभएको खण्डमा चेकको रकम पाउनेले भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्नेछ । यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिना भित्र दिइसक्नु पर्नेछ । चेकको हस्ताक्षर नमिलेको खण्डमा, बैंकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक धारकलाई लिखित रुपमा जानकारी गराउनु पर्ने छ।
चेक धारकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक दिने व्यक्ति वा संस्थालाई बैंक र वित्तीय संस्था मार्फत जानकारी गराउनु पर्नेछ । चेक दिनेले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारक ९चेकको रकम पाउनुपर्ने व्यक्ति०ले पहिलो पटक चेक पेश गरेको २ कार्यदिन पश्चात चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्नेछ ।
जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक दिनेलाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक विदा बाहेक सात दिनको सूचना दिनुपर्नेछ ।
सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा चेक दिनेलाई बैंक वा वित्तीय संस्थाले अनिवार्य रुपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्नेछ । सो अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई नै कारबाही हुनेछ ।