परपुरुषसित मिलेर पतिको हत्या, सेफ्टीट्यांकीबाट शव बरामद


परासी, ३ असोज । परपुरुषसित मिलेर पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टीट्यांकीबाट शव बरामद गरेको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३, घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्को एकजना पुरुषसित मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

शुक्रबार प्रहरीले मृतक पाण्डेको शव घरनजिकै रहेको हरि सुशिल प्राविको सेफ्टीट्यांकीबाट बरामद गरेको हो ।

मृतक पाण्डे १५ दिनअघिदेखि घरबाट हराएको भन्दै आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

हराएको लामो समयसम्म उनको अवस्थाकाबारेमा जानकारी नआएपछि स्थानीय महिलाहरुले मृतक पाण्डेकी श्रीमतीसँग बारम्बार सोधखोज गरेका थिए ।

त्यसक्रममा मृतक पाण्डेकी श्रीमतीले शंकास्पद कुरा गर्न थालेपछि प्रहरीले स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको थियो ।

पक्राउपछि श्रीमती पाण्डेले आफूसहित अर्को एकजना व्यक्तिको संलग्नतामा हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

ती व्यक्ति पनि पक्राउ परेका छन् । तर, प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेको भन्दै सार्वजनिक गरेको छैन ।

बयानकाक्रममा श्रीमती पाण्डेसँग परपुरुषको अनैतिक सम्बन्ध रहेको खुलेको छ ।

हत्याका दिन मृतक पाण्डेले आफ्नै घरमा परपुरुषसित श्रीमतीलाई देखेका थिए । घटना लुकाउन दुवैजना मिलेर पाण्डेलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा किटानी उजुरी दर्ता भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ