जनकपुरधाम, ५ असोज । शुक्रवारदेखि सुरु भएको जितिया पर्व आज सम्पन्न भएको छ । तराई मधेसका जिल्लाहरुमा भव्यताका साथ महिलाहरु कठोर जितिया पर्व मनाउछिन् । आज जिमुतवाहन देवतालाई विशेष प्रसाद चढाउँदै पर्व सम्पन्न भएको छ ।
ब्रत बस्नुअघि शुक्रवार महिलाले घिरौलाको पातमा भगवान् जितमाहन् र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाएका थिए भने मङ्गलबार बिहान चार बजेदेखि उपवास बसी निराहार ब्रत आज साँझ सम्पन्न गरेका छन् ।
जितिया पर्वमा ब्रतालुले नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहन्को कथा सुन्ने गर्दछन् । ब्रत बस्नु अघिल्लो दिनमै ब्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहित पदार्थ चढाउनु पर्छ ।
देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । त्यस्तै ब्रत सम्पन्न भएको दिन पनि शुरुको दिनको सम्पूर्ण कार्य दोहो-याउनुपर्छ । ब्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै ब्रतालु महिला ओठ गन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनु पर्छ ।
प्रायःजसो महिलाले ओठ गनमा चिउरा र दही खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो ब्रत विशेष विकट रहेको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख, शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको छ ।