८ असोज । भारतीय अभिनेता अमिताभ बच्चनले दादा साहब फाल्के पुरस्कार पाउने भएका छन् । भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठूलो पुरस्कारका रुपमा लिइने दादा साहब फाल्के यो वर्ष बच्चनलाई प्रदान गरिने भएको हो ।
अभिनेता अमिताभ बच्चनले बलिउडमा आफ्नो कर्मको ५० वर्ष पूरा गरिसकेका छन् । भारत सरकारका सूचना प्रशारण मन्त्री प्रकाश जावडेकरले बच्चनलाई पुरस्कार प्रदान गर्ने जानकारी दिएका हुन् ।
मेगा स्टार तथा बिग बी का रुपमा पनि चिनिने अमिताभको पहिलो चलचित्र सात हिन्दुस्तानी हो । यो चलचित्र सन् १९६९ मा प्रदर्शनमा आएको थियो । सन् १९७३ मा प्रकाश मेहराको निर्देशनमा बनेको चलचित्र जन्जीर उनको पहिलो हिट चलचित्र हो । त्यसपछिका दुई दशक उनी सबैभन्दा सफल नायकका रुपमा रहे ।
अहिले पनि सक्रिय रहेका अमिताभले चारपटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । उनले १५ वटा फिल्मफेयर अवार्डसहित धेरै पुरस्कार जितेका छन् । सन् २०१५ मा उनी पद्म विभूषणबाट सम्मानित भएका थिए । ७६ वर्षका उनी अहिले पनि चलचित्र र टेलिभिजनमा सक्रिय छन् ।