ओम प्रकाश साह/ जनकपुरधाम, १३ असोज । समतल भु–भागयुक्त प्रचुर सम्भावनाले भरिएका प्रदेश भएकाले उत्पादनमुखी व्यवसायमा लाग्न आइतबार एक कार्यक्रममा आग्रह गरिएको छ । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले यस्ता आग्रह गरेका हुन् ।
सजिलो बचत तथा ऋण सहकारी संस्था जनकपुरको छैठौं वार्षिक साधारण सभाका प्रमुख अतिथि रहेका मन्त्री साहले मतस्य पालन, गाई भैँसी पालन, कुखुरा पालन, बंगुर पालन, वेमौसमी तरकारी खेती, च्याउ खेती जस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने धारणा राखेका छन् । उनले आयमुलक व्यावसायले विपन्न परिवारको आर्थिक अवस्था उकास्ने उनले बताए ।
अहिले मुलुकभर करिब २६ हजार ५ सय भन्दा बढी सहकारी सस्ंथा सक्रिय छ । जसले कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान गरेको छ । गत वर्ष ४ अर्बभन्दा बढीको माछा भारत लगायत अन्य मुलुकबाट आयात गरेको तथ्यांक छ । कृषिजन्य उत्पादनमा परनिर्भरता अन्त्य गर्न उत्पादन मुखी खेतीपातीमा लाग्नुपर्नेमा मन्त्री साहले जोड दिए ।
सहकारीकै माध्यमबाट ग्रामीण विपन्न महिलाहरू आयमुलक कार्यगरी आर्थिक रूपमा सबल बन्दै सफल व्यवसायी समेत बन्ने उनले बताए । आमा समूह महिला समूहजस्ता संगठित संस्था खोलेर रुपैयाँमा छरिएर रहेका पैसालाई लाख र करोडमा बदल्दै स्वरोजगारी सिर्जना गरी आफैँ सक्षम बनेर जीविकोपार्जन गर्ने समूह अनगिन्ती रहेका पनि बताएका छन् ।
सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोज साहको अध्यक्षतामा बसेका साधारण सभामा राजपाका केन्द्रिय सहकारी बिभाग संयोजक संजय कुमार साह, राष्ट्रिय सहकारी बैंकका संचालक तथा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुब नारायण यादव, धनुषाका जेसिज प्रथिनिधी गौतम कुमार साह, जनकपुरधाम व्यपार संघका सदस्य प्रमेस्वर साहलगायतले मन्तव्य राखेका थिए ।