काठमाडौ, २० असोज । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा हिजो पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरी हिरासतमा छन् ।
अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरियो । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको छ । पीडित महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए ।
बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार महरालाई ५ वर्षसम्म जेल सजाय हुन सक्ने छ ।मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको प्रयास गरे त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ ।
यस कानून अनुसार करणी प्रयास प्रमाणित भएमा उनीमाथि साढे तीनदेखि ५वर्ष सम्मको सजाय हुन सक्छ । शुक्रवार रोशनी शाहीले महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै किटानी जाहेरी दर्ता गरेकी थिईन् । किटानी परेसंगै अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेसंगै उनीमाथि अनुसन्धान गर्नेछ र अदालतमा पेश गर्नेछ ।
अब २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ । अहिले दशैं विदाका कारण अदालत बन्दछ । जिल्ला अदालत भने अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला भएको हो । अदालतमा पेश गरेसंगै प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन सक्छ ।