सिराहा । प्रादेशिक अस्पताल सिराहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीको कारणले प्रादेशिक अस्पताल सिराहामा डायालाइसिस गराइरहेका एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिराहाको बरियारपट्टी गाउँपालिका खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन् । डायालाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो । त्यस क्रममा डायालाइसिस गराइरहेका दासलाई रगतको कमी भएकोले रगत चढाइएको थियो ।
आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो ।
अत्यधिक रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठजना बिरामीले डायालाइसिस गराइरहेका थिए ।
पहिलेदेखि सिकिस्त दासको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले बताए । ‘जेनेरेटर चल्ने क्रममा आगलागी भयो,’ सूचना अधिकारी सिंहले भने, ‘उपचार गराउँदै गरेकालाई पछि आकस्मिक कक्षमा उपचार गराए पनि जोगाउन सकिएन ।’
अरू वार्डमा पनि भर्ना भएका बिरामीहरूको भागाभाग भएको थियो । डायलाइसिस, एचडियू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए । यतिवेला अस्पतालका मेसु डा। नागेन्द्रप्रसाद यादव नेपालबाहिर छन् ।