सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । पानीको निकास नहुँदा अस्पताल क्षेत्र डुबानमा परेको हो । ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ ।
मंगलबार रातिबाट सप्तरीको राजविराजसहित जिल्लामा अत्यधिक वर्षा भइरहँदा जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार सप्तरीमा पछिल्लो चौबिस घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ ।
अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले निरन्तर वर्षा भइरहेकाले होचो स्थानमा डुबान तथा बाढीको सम्भावना रहेकाले विशेष सर्तकता अपनाउन अनुरोध गरेको छ । बाढी तथा डुबानको कुनै घटना भए स्थानीय विपद व्यवस्थापन समिति वा नजिकको सुरक्षा युनिटलाई खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ । बुधबार बिहान १० बजेको मापन अनुसार १ लाख २६ हजार १ सय ६५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । ब्यारेजका १८ वटा ढोका खोलिएको छ ।