जनकपुुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ५३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३१ जना महिला छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५६ जना वीरगन्ज महानगरपालिकाकै छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा पनि १३ संक्रमित थपिएका छन् । वीरगन्जको नारायणी अस्पतालको क्वार्टरमा बस्ने थप एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै भारतीय वाणिज्य दूतावासमा पनि १ संक्रमित थपिएका छन् । बेल्वा हेल्थ पोस्टका १ जना, पोखरिया अस्पतालका ३ जना र ओम आश्रम श्रीपुरका १ जनामा पनि कोरोना देखिएको छ ।
यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ जना र महोत्तरीमा ३ जना कोरोना संक्रमित थपिएका छन् । सिरहा र सप्तरीमा भने पछिल्लो २४ घण्टामा एक जना पनि संक्रमित नभेटिएका मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
तीन जनाको मृत्यु
पछिल्लो २४ घण्टामै तीन जनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि सामाजिक विकास मन्त्रालयले गरेको छ । धनुषाका ५० वर्षीय पुरुष र पर्साकी २ महिलासहित तीन जनाको मृत्यु भएको हो। पर्साकी मृतक महिला २० र ४५ वर्षकी हुन् ।
धनुषाका मृतक पुरुष ५० वर्षीय मिथिला विहारी नगरपालिका ६ का विन्देश्वर मण्डल हुन् । उनी जनकपुरस्थित विनय तारा फाउन्डेसन क्यान्सर सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
योसँगै प्रदेश २ मा मृत्यु हुनेको संख्या २९ पुगेको छ।