जनकपुरधाम : नेपाली काँग्रेसकी समानुपातिक साँसद सरस्वती चौधरीसँग रकम माग्न गएका एक ठेकेदार कुटिएका छन् । संसदीय विकास कोषको रकमबाट गरेको विकास योजनाको रकम साँसद चौधरीसँग मागेपछि ठेकेदार नविन यादब कुटिएका हुन् ।
लक्ष्मीनिया गाउँपालिका ३ घर भएका ठेकेदार यादबलाई साँसद चौधरीका छोरा अजित मण्डल, जितेन्द्र यादब र पप्पु दासले जनकपुरमै कुटपिट गरेका छन् । शहिदनगर नगरपालिका र जनकपुरमा पिसिसि ढलान गर्न लगाएर साँसद चौधरीले रकम नदिएको पीडित ठेकेदारले गुनासो गरे । उनले भने– आजभोली गर्दागर्दै अहिलेसम्म रकम दिएको छैन । मागेपछि गुण्डा लगाएर कुटपिट गर्न लगायो ।’
कुटिएका ठेकेदार यादबले टुडेखोजसँग भने– साँसद चौधरीले कमिशन मागेकी थिइन् । कमिशन नदिने बताएपछि रकम दिन मानेकी छैन । आज रकम माग्न गएपछि जानकी मन्दिर नजिकैबाट साँसद चौधरीले आफ्नो घर लगेर कुटपिट गर्न लगाएकी छन् ।’
ठेकेदार यादबले साँसद चौधरीको संसदीय विकास योजना अन्तर्गत जनकपुरधाम १४ ब्याहुत सुडी सेवा समितिदेखि विजय यादवको घरसम्म २ सय मिटर सडकमा पिसिसि ढलान र शहिदनगर नपा ९ कियोटानी टोलको डिहबार स्थानदेखि अजय श्रीवास्तवको घरसम्म ३४५ मिटर पिसिसि ढलान गरेको बताएका छन् ।
उनका अनुसार जनकपुरको पिसिसि ढलान र नाला निर्माणका लागि २७ लाख र शहिदनगरको पिसिसि ढलानका लागि ५६ लाख ६४ हजार बजेट छुट्याइएको थियो । जनकपुरमा साँसद चौधरीले आफ्नै भाई सुनिल ठाकुरलाई उपभोक्ता समितिको अध्यक्ष र छोरी सपना चौधरीलाई कोषाध्यक्ष बनाएकी थिइन् । यस्तै शहिदनगरमा दुर्गानन्द रजकलाई अध्यक्ष बनाइएको थियो ।
उपभोक्ता समिति बनाएपनि साँसद चौधरीले काम गर्न ठेकेदार यादबसंग सम्झौता गरेकी थिइन् । कमिशनमा कुरा नमिलेपछि साँसद चौधरीले आफ्न्तलाई उपभोक्ता बनाएको रहस्य पनि खुलेको छ ।