- राजेश विद्रोही
जेष्ठ १० मा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९, सखुवाका ५४ वर्षीय सुकदेव खंगलाई लठ्ठी र चिरपटले हानेर हत्या गरे । २९ असारमा अपहरणमा परेका सप्तरी शम्भुनाथ नगरपालिका ४, का ४० वर्षीय त्रिभुवन राम ३० गते मुतनी नदिमा मृत भेटिए । गतवर्ष त्रिभुवनको छोरीको सामूहिक बलात्कार भएको थियो । मोरंग विराटनगर उपमहानगरपालिका १६, दरहियाका ३० वर्षीय राजेश ऋषिदेव सदालाई घर जग्गा सम्बन्धि विवादको विषयलाई लिएर विपक्षीले निर्घात कुटपिट गरी आफ्नै घरमा झुन्ड्याएर हत्या गरेको परिवारको आरोप छ । २६ असारमा सिरहा लहान नगरपालिका १, मटियर्वाका १९ वर्षीय रोशन राम ३० गते मिर्चैयाको बसहा खोला नजिकैको काँसघारीमा प्रहरीले बेवारिसे लाशको रुपमा फेला पारे ।
हत्या गरिएका सखुवाका सुकदेव खंग (मण्डल) सामान्य मजदुर थिए । गाउँको साँगुरोबाटो मिचेर अनिता मेहताले घर निर्माण गरेपछि बाटो झन साँगुरियो । १० घर दलित मण्डलहरुले बाटो मिचेको भन्दै विरोध गर्दै आएका थिए । १० जेष्ठमा गाउँमा झगडा सुरु भएपछि सुकदेव काखमा दुईवर्षको नाति बोकेर झगडा स्थलतिर लागेका थिए । भनाभन हुँदै थियो । सुकदेवले बसेर कुरा मिलाउने आग्रह गर्दै थिए । झगडाले उग्ररूप लियो । मेहता र यादव टोलबाट दर्जनौं मानिसहरू हातमा लठ्ठी र भाटा बोकेर आयो । दलित बस्तीका सबै मानिसहरू भागे । सामुन्नेमा परे काखमा बच्चा बोकेको सुकदेव । सुकदेवलाई अन्धाधुन्ध हानेपछि उनको टाउको छियाछिया भयो । उपचारको क्रममा उनको मृत्यु विराटनगरको न्यूरो अस्पतालमा भयो । उनको मृत्युपछि सुकदेवको घटनामा संलग्न १३ जनामाथि जाहेरी दिए । तर, प्रहरीले १३ जनाको नाम कटाएर दुईतिन जनाको नाम मात्र हाल्न दबाब दिएपछि उनले ७ जनाको माथि मुद्दा दर्ता गए । अशोक भन्छन्- झप्रहरीले अहिलेसम्म एकजनालाई पनि पक्राउ गरेको छैन् ।
अपहरणपछि हत्या गरिएका त्रिभुवन रामको छोरीको बलात्कार मुद्दामा चारजना जेल सजाय काटिरहेका छन् भने तीनजना अझै फरार छन् । गाउँकै एकजना जमिनदारको दश कट्ठा जग्गामा त्रिभुवनको मोहियानी हक थियो । जिल्ला भूमिसुधार कार्यालयले मोहियानी हकको प्रमाणपत्र पनि दिइसकेको थियो । २९ गते जग्गा धनीसँग गाउँमा मिलापत्रको लागि छलफल थियो । छलफल सकेर त्रिभुवन घर आएका थिए । बेलुका साइकल चढेर गाउँ नजिकैको पसलतिर उनी हिंडेका थिए । पसलबाट फर्किदै गर्दा बाटोमै त्रिभुवन अपहरणमा परे । त्रिभुवन पसलबाट घर नफर्किएपछि रातभर खोजीकार्य सुरु भयो । त्रिभुवन कतै भेटिएन । भोलिपल्ट परिवारले प्रहरीमा उजुरी गरे । अविरल वर्षा भइरहेको थियो । उजुरी गरेको ६ घण्टापछि मुतनी नदिमा पानी जमेको एउटा खाल्डोमा त्रिभुवनको लाश फेला पर्यो । कुटपिटपछि हत्या गरेको अभियोगमा अनुसन्धानको लागि चारजना पक्राउ परेका छन् भने तीनजना फरार छन् ।
विराटनगर दरहियाका राजेश ऋषिदेव (सदा) आफ्नो आँगनमा कुलदेवताको मन्दिर बनाएका थिए । छिमेकी जग्गा धनिले मन्दिर आँफ्नो जग्गामा परेको दावी गर्दै आँएका थिए । दरहियामा एक मात्र मुसहर घर छ । असार १९ गते घरका सबै सदस्य मजदुरी गर्न वाहिरी सकेका थिए । घरमा राजेश दम्पती मात्र थिए । जग्गा धनि गंगा मण्डल, हरेराम मण्डल, अनिल मण्डल, कन्हैया मण्डल, देवन मण्डल सहितले राजेशलाई निर्घात कुटपिट गरिरहेको सुनेर श्रीमती कलमीदेवी घटना स्थलतिर हिंडे । घटनास्थल पुगेपछि उनलाई पनि निर्घात कुटपिट गरेर रोडमा लडाए । कलमी भन्छिन्, ‘मलाई टाउकोमा हानेपछि मुर्छित भएँ । त्यसपछि केही थाहा भएन । विपक्षीले श्रीमानलाई कुटपिट गरी आफ्नै घरमा लगेर झुन्ड्याइ दिए ।’
दिउँसो कामबाट घर फर्केको राजेशको भाई उमेश भाउजुलाई मुर्छित र दाईलाई घरमा झुन्डिएको देखेपछि हारगुहार गरेका थिए । तर, उमेशको बिलाप कोही सुन्ने भएन । उमेश भन्छन्, ‘गाउँकै एकजना पहाडिया गोपालदाईले आफ्नो टेम्पोमा कोशी अंचल अस्पताल पुर्याइदिए । तर, अस्पतालले बाटोमै मृत भइसकेको डाक्टरले घोषणा गरे ।’
प्रहरीले अहिलेसम्म मुद्दा दर्ता लिएको छैन । राजेशको बुवा अमरलाल भन्छन्, ‘प्रहरीले मुद्दादर्ता लिएन । धेरैपटक धाए । प्रहरीले अनुसन्धान गर्नुपर्छ मात्र भन्छन् ।’ सबै मिलेर प्रमाण नष्ट गरिसकेको छ । हामी शोकमा बेहोस थियौं । विपक्षीहरु पहुँचबाला हुन् । हामी सोझा मान्छे । पोस्टमार्टम रिपोर्ट बनाएर हामीलाई कम्जोर पारे । लाश कुहिन्छ भनेर उनीहरुले हतारहतारमा प्रक्रिया पुर्याए । र, उनीहरुले नै लाश खाल्डो खनेर गाडे, कलमीले थपिन् । मोरंगका जिल्ला प्रहरी प्रमुख सन्तोष खड्कासँग फोनसम्पर्क गर्दा धेरै कुरा बताउन चाहेनन् । उनले उल्टै प्रस्ताव गरे, ‘हामीसँगै छानविनमा जाउँ ।’
०००
मिर्चैया नगरपालिका ९, मा हत्या गरी फालिएका सिरहा लहानका रोशन रामको लाश दुर्गन्धित भइसकेकाले सोही दिन मिर्चैया प्रहरीले लहान अस्पताल ल्याइएको थियो । साउन १ गते प्रहरीले बेवारिसे शवको पोस्टमार्टम गरिसकेको थियो । बेवारिसे लाश भेटिएको थाहा पाएपछि २ गते रोशनको बुबा सिफैत राम अस्पताल पुगेका थिए । रोशनले लगाएको कपडा र प्रहरीले देखाएको फोटोको आधारमा सिफैतले आफ्नो छोरालाई चिनेका थिए । लकडाउनको समयमा साथीहरूसँग सीमावर्ती गाउँ गएका बेला उनी लागुपदार्थसहित पक्राउ परेका थिए ।
लागुपदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले १० हजार धरौटी तोकेको थियो । गरिबीको कारण समयमा उक्त रकम तिर्न सकेनन् । त्यसपछि रोशनलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । एकमहिना जेलबसाइको क्रममा उनले ससुराली गाउँ मिर्चैयाका २५ वर्षीय जयकुमार यादवलाई भेटेका थिए । जयकुमारसँग रोशनले जेलमै हजार रुपैयाँ सापटी लिएका थिए । सिफैतले १० हजार ऋणकाडेर धरौटी रकम बुझाएपछि १० असारमा रोशन घर आएका थिए ।
जयकुमार यादव जेलबाट छुटेपछि २६ असारमा सापटी रकम फिर्ता लिन गाउँकै २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई साथमा लिएर रोशनको घरमा आएका थिए । पैसा माग्न आएका जयकुमारले रोशनको घरको फोटो मोबाइलमा खिच्दै उसको आमा सुनैरदेवीलाई धम्क्याएका थिए । त्यही राति रोशनलाई फोनबाट पनि धम्क्याएका थिए । त्यसपछि मात्र परिवारले जयकुमारसँग लेनदेनको कुरा थाहा पाएको थियो । सिफैत भन्छन्, ‘मैले ऋण काडेर भएपनि हजारको बदला पन्द्रसय दिन्छु भनेको थिए ।’
२६ गते जयकुमार र मुकुन्दले ससुराली घुम्न जाऔँ भन्दै बाइकमा चढाएर रोशनलाई लगेका थिए । उनीहरु त्यही दिन राति रोशनको ससुराली मिर्चैया पनि पुगेका थिए । तर, उनीहरु त्यहा धेरैबेर रुकेनन् । २६ गते राति नै रोशनलाई हत्यागरी फालिसकेका थिए । रोशनको खोजी हुन थाल्यो । कतै भेटेन । रोशनकी आमा सुनैरदेवीले भनिन्, ‘कान्छी छोरी गंगाको धुमधामकासाथ विवाह गर्ने भनेर वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाएर चैत ९ गते काठमाडौं हिडेका थिए । लकडाउनको हल्ला चलेपछि उनी चैत १० गते घर फर्किएका थिए ।’ रोशनको हत्या भएपछि एकली श्रीमती अन्जली मुर्छित छिन् । हत्या अभियोगमा जय र मुकुन्द पक्राउ परिसकेको छ ।
कोभिड १९ को समयमा रुकुमको सोतीबाट सुरु भएको दलित युवा नवराज विकको नरसंहारको घटनादेखि हाल त्रिभुवन राम, रोशन राम र राजेश सदाको घटनासम्म आइपुग्दा देशमा लोकतन्त्र र मानवअधिकार प्रति गम्भीर प्रश्नचिह्न खडाभएको छ । यतिबेला जताततै दलित मारिएका छन् । जताततै दलित कुटिएका छन् । दिनप्रतिदिन दलितहरुमाथि कुनै न कुनै घटना घटिरहेकै छन् । तर पनि सरकार र राजनीतिक दल मौन छन् । कुनै समाजिक र सामूहिक चेतनामूलक अभियान अभियान चलाएको छैन् । न त कसैले दलित नरसंहारलाई राजनीतिक रुपमा प्रमुख मुद्दा बनाएको छ । सबै सरोकारबाला पक्षहरू मौन छन् । किनभने त्यहाँ दलित नेतृत्व छैन् गैरदलितहरुकै हालीमुहाली छन् ।
यतिबेला मधेस दलित हत्याको हर्टस्पोर्ट बनिसकेको छ । दिनप्रतिदिन कुनै न कुनै घटना घटेकै छन् । प्रदेश सरकार भने कतै राहतको नाममा पाँचलाख बोकेर जान्छन् त कतै ललिपप बाँड्दै हिडेका छन् । दलित न्याय र अधिकारलाई पैसा र पावरमा साटिरहेका छन् । गाउँघरमा थुप्रै घटनाहरु पैसा र पावरको बलमा दवाई रहेका छन् । केही घटनाहरु मात्र सार्वजनिक हुने गरेका छन् । त्यसमा पनि तीनै तहको सरकारले पनि तिनै पुराना यथास्थितिवादी समाजिक राजनीतिक चरित्र देखाई रहेका छन् । अब दलित समुदाय कोसँग न्याय र अधिकारको आशा गर्ने ? प्रश्न र स्थिति दुबै गम्भीर छन् । दलित आयोग निर्माणको कुरा त अहिले उठ्नै छाडेको छ । लाग्छ दलित मान्छे नभएर कुनै निर्जीव वस्तु हुन् जस्तो व्यवहार जताततै भइरहेको छ । चाहे त्यो बैधानिक रुपमा होस् वा अबैधानिक रुपमा । समाजिक रुपमा होस् वा असमाजिक रुपमा । चाहे त्यो जातीय रुपमा होस वा गैर जातीय रुपमा । दलितमाथि भएको अत्याचारले कसैलाई पोलेको छैन् । पोलेको छ त केबल दलितलाई मात्र । दलित समस्याको बुझाइमा अझै पनि एकरुपता र सामूहिकता छैन । त्यसैले लाग्छ दलित विभेद र उत्पीडनको समस्या कुनै सामूहिक वा राज्यको समस्या नभएर दलित जात विशेषको समस्या मात्र हो । यो समस्याको सामाधान दलितहरुको मात्र हो । त्यसैले होला यतिबेला दलित आन्दोलनमा दलित मात्र सहभागी देखिएका छन् । सामूहिक सहभागीता देखिएको छैन् ।
०७४ को संविधानमा ज्यान सम्बन्धि कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एकलाख रुपैयादेखि जन्म कैदसम्मको कानुनी व्यवस्था छ । तर, दलित हत्यामा अहिलेसम्म कमैले कसुर सजाय भोगेका छन् । धेरैले पैसा र पावरको चलखेलमा उम्कने गरेका छन् । यसले दलित न्यायमाथि प्रश्नचिह्न खडा गरेको छ । लकडाउनको समयमा सबैभन्दा धेरै कष्ट कसैले झेलेका छन् भने त्यो दलित समुदाय नै हुन् । जसको कुनै हिसाबकिताब छैन् । दलित र विपन्न मजदुर परिवार एकातिर काम र माम नपाएर भोकै मर्नुपरिरहेको अवस्था छ भने अर्कोतिर पुस्तौंदेखि जडा गाडेर रहेका जातीय विभेदको कारण नरसंहारका घटनाहरुबाट विक्षिप्त छन् । अहिलेसम्म जहा मारिए दलित मारिए । जुन कारणले मारिए दलित मारिए, त्यो जातीय विभेदकै कारण मारिए ।
(लेखक विद्रोही जनता समाजवादी पार्टीका केन्द्रिय नेता हुन् ।)