लहान : सिरहाको औरही गाउँपालिकामा अख्तियारको टोलीले छापा मारेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको नाममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले छापा मारेको हो ।
जिल्ला प्रशासन कार्यालयको दबाबपछि औरही गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको एकमुष्ट हिसाब सार्वजनिक गरेको थियो । हिसाब सार्वजनिक गरेपछि भ्रष्टाचारको रहस्य खुलेको छ ।
गाउँपालिका प्रमुख सिद्धार्थ यादबले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा जनप्रतिनिधिका लागि करिब १२ लाख रुपैया निकालेर आफ्नो निजी खातामा राखेका छन् । यस्तै झुल खरिदमा समेत व्यापक रकम खर्च गरेको छ ।
पदाधिकारीको भत्तामा मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर कुन सामग्री कति खरीद गरिएको छ त्यो केही उल्लेख गरिएको छैन ।