विराजसँग एक्सन मुडमा निकिता


काठमाडौं, १० मंसिर। मिस नेपालको प्ल्याटफर्मलाई नेपाली फिल्मका लागि अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । मिस नेपालको उपाधि जितेपछि प्रायः सुन्दरीहरुको मुख्य उद्येश्य अभिनेत्री बन्ने हुन्छ । मेकरहरु पनि मिस नेपालको उपाधि जितेपछि फिल्मको अफर गर्न पुगिहाल्छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ! मिस नेपाल विजेता कसैले आजसम्म नेपाली फिल्ममा लोभलाग्दो सफलता हात पार्न सकेका छन् । जति आए सबै असफल श्रेणीमै उभिए ।

यसबीच, आउँदो माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘साङ्लो’ बाट नेपाली फिल्मले फेरि एक मिस नेपाललाई अभिनेत्रीको रुपमा स्वागत गर्दैछ । उनी हुन्, निकिता चाण्डक । उनी सन् २०१७ की मिस नेपाल हुन् । आफ्नो एक वर्षे कार्यकाल सकिए लगत्तै उनले फिल्म ‘रानी महल’ साइन गरेकी थिइन् । तर, यो फिल्म आधा पनि नबन्दै सधैंका लागि थन्कियो ।

‘रानी महल’ थन्किएपछि उनी तत्काल फिल्म गर्ने सोचमा थिइनन् । केही समय अभिनय सिक्ने मनस्थिति बनाएकी थिइन् । तर, त्यही बेला उनलाई अभिनेता विराज भट्टले फिल्म ‘साङ्लो’ अफर गरे । यो फिल्ममा उनले विराजको प्रेमिका र श्रीमतिको भूमिका निभाएकी छन् । आउँदो बिहीबार फिल्मको पहिलो गीत सार्वजनिक हुँदैछ । जसमा विराज र निकिताले ठुम्का लगाएका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने निकिताले हालै इन्स्टाग्राममा एक तस्विर साझेदार गरेकी छन् । जसमा उनी अभिनेता विराजसँग एक्सन मुडमा देखिएकी छन् । उक्त तस्विरले ‘साङ्लो’ एक्सन प्रधान फिल्म रहेको प्रस्ट्याउँछ । यो फिल्मलाई लिएर निकै उत्साहित र आशावादी रहेकी निकितालाई नेपाली फिल्ममा असफल मिस नेपालको भीडमा अपबाद बन्नु पर्ने चुनौती छ ।

विराजको निर्देशन र निकिताको अभिनयमा डेब्यू फिल्म भएका कारण ‘साङ्लो’ माथि धेरैको चासो छ । फिल्मले सिंगल थिएटरमा राम्रो व्यापार गर्ने कतिपयको अनुमान छ । किनकि, दशक अगाडि विराजका फिल्मले सिंगल थिएटरमा जबरजस्त व्यापार गर्दथे । तर, लामो समय नेपाली फिल्म छाडेर भोजपुरी फिल्म गरेपछि उनको नेपाली दर्शकमा खासै राम्रो क्रेज छैन । ‘साङ्लो’ ले उनको पुरानो क्रेज फर्काउला त ? आशा गरौं ।

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार ११:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ