गुगलविरुद्ध अमेरिकी सरकारले किन दायर गर्‍यो मुद्दा ?


इन्टरनेटमा सर्च इन्जिन गुगलविरुद्ध अमेरिकी सरकारले मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित गुगलविरुद्ध अमेरिका सरकारले मुद्दा दायर गरेको हो ।

गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप अमेरिकी सरकारले दायर गरेको उजुरीमा छ ।अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो ।

एक वर्षभन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर गरिएको छ । गुगलले भने मुद्दालाई गम्भीर रुपले त्रुटीपूर्ण भनिसकेको छ ।

कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको दावी गरेको छ । गुगलले भनेको छ, ‘मानिसहरुले गुगलको प्रयोग आफ्नो रोजाइका कारण गर्छन्, न कि बाध्य पारिएका कारण वा अरु विकल्प नभेट्टाएका कारण ।’

अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा दायर गरेको मुद्दामा गुगलले रहेक वर्ष अर्बौँ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोनसहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्चिने गरेको उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा द्वारपाल (गेटकिपर)को जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको बताइएको छ ।

इन्टरनेट मार्फत हुने खोजीमा हुनुपर्ने प्रतिस्पर्धा खारेज गर्ने काममा गुगल सक्रिय रहेको आरोप लागेको छ । एकाधिकार अन्त्य गरी खोजीको गुणस्तर बढाउने तथा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने अमेरिकी सरकारको माग छ ।

प्रकाशित : २०७७ कार्तिक ५, बुधबार १०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ