बिहारमा आज हुँदैछ दोस्रो चरणको मतदान


पटना : कोरोना संकटकैबीच भारतमा चुनावी रौनक छ । आज विहारमा विधानसभा चुनावको दोस्रो चरणको मतदान हुँदैछ ।

भारतीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा मंगलबार १७ जिल्लाका ९४ सिटका लागि मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । २४३ सिट रहेको विहार विधानसभामा मंगलबार आधाभन्दा धेरै सिटमा मतदान भइरहेको छ ।

दोस्रो चरणको मतदानमा कुल १ हजार ४६३ जना उम्मेदवार छन् । यो चरणमा करिब २ करोड ८६ लाख मतदाताले मताधिकार प्रयोग गर्नेछन् । ​बिहारबाहेक अन्य १० राज्यमा कोरोना महामारीकैबीच ५४ सिटमा उपचुनावका लागि मतदान हुँदैछ ।

२ सय ४३ सिट रहेको विहारमा पहिलो चरणमा २८ अक्टोबरमा  १६ जिल्लाका ७१ सिटको लागि मतदान भएको थियो ।

बिहारमा तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुनेछ । कोरोना संक्रमण विश्वमै सबैभन्दा धेरै फैलिएको देशमध्ये दोस्रो नम्बरमा रहेको भारतमा भइरहेको चुनावलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ