हाइटीमा शक्तिशाली भूकम्प


एजेन्सी : हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ ।भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ ।

हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

यूएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ ।

भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन् । प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका स्कूलहरूका आवासीय भवनहरूमा क्षति पुर्‍याएको देखिएको छ ।

यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट-अउ-प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ