सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलनमा के भन्यो ?


बीबीसी : राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ”२० वर्षको संघर्षपछि हामीले देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको” बताएका छन् ।

विदेशीहरुलाई निकाल्नुलाई उनले पुरै देशका लागि गर्वको क्षण भएको उल्लेख गरे । ”अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” उनले थपे, ”हामी विरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।”

शरिया कानुनका आधारमा महिला अधिकार
पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए ।

आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए । ”उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्ने छन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिने छैन,” मुजाहिदले भने

तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरू सहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ ।

निजी क्षेत्रका सञ्चारमाध्यम ‘निष्पक्ष र स्वतन्त्र’ हुन पाउने
तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर सञ्चारमाध्यम प्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ ।

पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ”निजी क्षेत्रका सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने छन् ।”

सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ । ”कसै प्रति बदलाको भाव देखाइने छैन,” मुजाहिदले भने ।

आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडुन् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताए । कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले जानकारी दिए ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार २१:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ