अफगानिस्तानः पन्जशिर नियन्त्रणमा लिएको तालिबानको दाबी, विरोधी समूह भन्छ- सत्य हैन


बीबीसी : तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ । “यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ,” तालिबानका एक प्रवक्ताले भने ।

तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले तालिबानको दाबीको खण्डन गरेको छ । “यो सत्य हैन । तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएको छैन । म तालिबानको दाबीको खण्डन गर्छु,” एनआरएफका प्रवक्ता अलि मैसमले भने ।

उक्त समूहको ट्विटरमा भनिएको छः ”एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन् । हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ ।”

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको प्रवेशद्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ । बीबीसीले ती तस्बिरलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ