तालिबानले बनाए अफगानिस्तानमा नयाँ सरकार, अखुन्द बने प्रधानमन्त्री


बीबीसी : तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ ।समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् ।

उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले भने, “हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता सरकारका लागि प्रतीक्षारत छन् ।”

महत्त्वपूर्ण कदम
अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन् । उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।

मन्त्रिपरिषद्‌ गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् जो हक्कानी सञ्जालका प्रमुख पनि हुन् ।

समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन् । तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नु हुनेछ ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए। राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए

प्रकाशित : २०७८ भाद्र २२, मंगलवार २२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ