मार्लोन ब्राण्डो : जसले ओस्कार अवार्ड बहिस्कार गरे


एजेन्सी : मार्च २७, १९७३, जुन दिन भव्य समारोहबिच ४५ औँ ओस्कार अवार्डको कार्यक्रम हुँदै थियो । त्यो वर्षको उत्कृष्ट अभिनेताको अवार्डका लागि पाँच अभिनेताको नाम थियो । ति अभिनेता थिए, स्लेथबाट माइकल केन र लोरेन्स ओलिभर, द रुलिङ क्लासबाट पिटर ओ टुल, साउण्डरबाट पाउल विनफिल्ड र द गड फादरबाट मार्लोन ब्राण्डो ।

उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति भनेर मार्लोन ब्राण्डोको नाम लिइयो । मारियो पुजोको उपन्यासमा आधारित रहेर फ्रान्सिस फोर्ड कोपोलाको निर्देशन गरेको द गडफादरमा मार्लोनले इटालियन माफिया परिवारको मुख्य व्यक्ति भिटो कार्लियोनीको भूमिका निर्वाह गरेका थिए ।

विश्वभरीका कलाकारको सपना जस्तो मानिने ओस्कार अवार्डमा आफ्नो नाम पनि चढेको छ भन्ने थाहा हुँदा हुँदै मार्लोन उक्त समारोहमा उपस्थित थिएनन् । उत्कृष्ट अभिनेता मार्लोन ब्राण्डो भनेर नाम उच्चारण भइसकेपछि अभिनेत्री तथा मोडल ससिन लिटिलफिदर मञ्चमा उक्लिइन् । जसलाई मार्लोनले आफ्नो प्रतिनिधिको रुपमा पठाएका थिए ।

उत्कृष्ट अभिनेताको नाम पढेका पाहुना होस्टले अवार्ड लिटिलफिदरतिर तेर्साए । तर, उनले उक्त अवार्ड लिन मानिनन् । बरु आफैले एउटा चिठी निकालिन जुन मार्लोनले दिएर पठाएका थिए । यस्तै अवस्था आएमा पढन भनेर । मार्लोनले पठाएको पन्ध्र पेज लामो चिठी पढ्नको लागि समय थिएन । ​

लिटिलफिदरले यति भनिन् मार्लोन यो अवार्ड लिन चाहँदैनन् । उनले भनिन्, ‘अनि यसको कारण हो अमेरिकन इण्डियनलाई यो उद्योगले गर्ने व्यवहार ।’ अमेरिकी फिल्म तथा टेलिभिजनमा अन्य देशबाट आएर अमेरिकी बनेकाहरुलाई जस्तो चित्रण गरिन्थ्यो मार्लोनलाई त्यसमा आपत्ती थियो । फिल्ममा अमेरिकी भारतीयहरुको चरित्र हत्या गरिएको भन्दै मार्लोनले ओस्कार बहिस्कार गरेका थिए । पछि मार्लोनले लेखेको पन्ध्र पेज लामो चिठी पनि पत्रिकामा छापिएको थियो ।

सामाजिक अभिन्ता समेत रहेका मार्लोनले विभिन्न सामाजिक विषयमा खुलेर बोल्दै आएका थिए । सन् १९४० को दशकमा जतिबेला दोस्रो विश्वयुद्धले सब आक्रान्त थिए । त्यतिबेला यहुदीहरुको लागि एउटा छुट्टै राज्य हुनुपर्छ भन्ने विषयमा उनले खुलेर बोलेका थिए । त्यो बाहेक पनि अफ्रिकन अमेरिकनको अधिकार सुनिश्चितताको विषय होस् या ब्ल्याक प्यान्थर पार्टीको विषय होस् उनी आफ्ना धारणा खुलेर राख्थे जसले गर्दा उनी समय समयमा विभिन्न विवादमा पनि तानिने गर्थे ।

सन १९२४ मा जन्मेका मार्लोन २० वर्षको उमेरदेखि अभिनयमा सक्रिय थिए । ६० वर्ष यस क्षेत्रमा बिताएका उनको ८० वर्षको उमेरमा, सन २००४ मा निधन भएको थियो । द गडफादर बाहेक उनका अ स्ट्रिटकार नेम्ड डिजायर, जुलियस सिजर, द वाइल्ड वान, सायोनारा लगायतका फिल्म चर्चित छन् ।

प्रकाशित : २०७८ आश्विन ७, बिहीबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ