एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा


काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

केही बेरअघि पत्रकार सम्मेलन गरेर आचार्यले असोज २८-३० मा काठमाडौंमा हुने महाधिवेशनका लागि आफूलाई अध्यक्षका रूपमा अघि सारेका हुन् । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए ।

अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् ।

सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७(१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्वीकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामूलक बनाउने मुद्दालाई अघि सारेको आचार्यको भनाइ छ ।

‘कोभिड-१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ’, यसअघि आफ्नो एजेण्डा सार्वजनिक गर्दै आचार्यले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको बताएका थिए ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ