दुई अमेरिकी वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार


रासस/एएफपी : शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

उनीहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गरेका थिए । शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उनीहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ ।

नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा अध्ययन गरेका थिए ।

त्यस्तै पाटापौटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाब वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लागेको थियो । दुबै जनालाई पुरस्कारस्वरूप आठ लाख ४५ हजार पाउन्ड रकम प्रदान गरिने नोबेल कमिटीले जनाएको छ । कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ