बेलायतमै प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग भेट्ने


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बेलायतमा भेटवार्ता गर्ने भएका छन् । स्कटल्यान्डस्थित ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धिको २६ औं सम्मेलन (कोप–२६)का क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएका हुन् ।

कोप २६ को साइडलाइन वार्ताका क्रममा प्रम देउवा र भारतीय प्रम मोदीबीच अर्को साता भेटवार्ता हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । उक्त भेट देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक हुन लागेको हो ।

उक्त वार्ताका लागि नेपालले भारतसमक्ष आग्रह गरेको थियो । जुन आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । कोप–२६ यही बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो सहरमा यही कात्तिक १२–१६ मा हुने तय भएको छ ।

उक्त सम्मेलनमा नेपाली प्रतिनिधिको नेतृत्व प्रधानमन्त्री देउवाले गर्ने छन् । जसको लागि उनी शुक्रबार बेलायततर्फ प्रस्थान गर्दैछन् । देउवाले साउन ३ मा संसद्‌बाट विश्वासको मत लिएपछि मात्र भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाई दिएका थिए । बेलायतमा हुने भेटले प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको सम्बन्धमा सुधार आउने विश्वास गरिएको छ ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ