साउदी अरबमा पनि भेटिए नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित


काठमाडौं । खाडी मुलुक साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जना संक्रमित भएका छन् । नयाँ भेरियन्टका संक्रमित भेटिएपछि साउदी अरबका जनता त्रसित बनेका हुन् ।

सरकारी समाचार माध्यम साउदी प्रेस एजेन्सीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै साउदी अरब ओमिक्रोन भेरियन्ट पुष्टि गर्ने पहिलो खाडी राष्ट्र बनेको छ ।

उत्तरी अफ्रिकाबाट फर्किएका एक साउदी नागरिकमा संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ । तर उनी कुन मुलुकबाट फर्किएको भनेर समाचारमा केही खुलाइएको छैन । हाल संक्रमित व्यक्तिसहित उनको सम्पर्कमा आएका मानिसलाई आइसोलेशनमा राखिएको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयले मानिसलाई पूर्ण खोप लगाउन अपील गरेको छ भने यात्रुहरूलाई ‘सेल्फ आइसोलेशन’मा बस्न र परीक्षणसम्बन्धी नियम पालना गर्न भनेको छ ।हालसम्म ओमिक्रोन भेरियन्ट २२ मुलुकमा फैलिएको छ । तर ओमिक्रोन सुरुमा कहाँ र कहिले उत्पत्ति भएको भनेर अझै प्रस्ट हुन सकेको छैन ।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ गते पहिलो पटक ओमिक्रोन पहिचान गरिएको थियो । तर नेदरल्याण्डमा योभन्दा पहिला नै अर्थात् नोभेम्बर १९ देखि २३ गतेभित्र लिएका २ वटा नमुना परीक्षणपछि नयाँ भेरियन्ट पुष्टि भएको पाइएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रले विश्वव्यापी महामारी व्यवस्थापनसम्बन्‍धी एउटा नयाँ सहमतिका लागि प्रक्रिया अघि बढाउने भएका छन् । जेनेभामा आयोजित विशेष बैठकबाट महामारीको पूर्वतयारी र प्रतिकार्यलाई केन्द्रमा राख्दै नयाँ सहमतिका लागि प्रक्रिया अघि बढाउन सदस्य राष्ट्रहरू एकजुत भएका हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित : २०७८ मंसिर १६, बिहीबार ०४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ