मलेसियामा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो, नेपाली मजदुर त्रसित


काठमाडौं । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम जारी छ । मलेसियामा समेत ओमिक्रोनका एक संक्रमित फेला परेका छन् ।

मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको बताएका हुन् । नोभेम्बर १९ गते दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आएका विदेशी यात्रुमा संक्रमण देखिएको उनको भनाइ थियो ।

मलेसियाको स्वास्थ्य विभागले समेत दक्षिण अफ्रिकाबाट आएका २५४ जना यात्रुमध्ये एकजनामा ओमिक्रोन पुष्टि गरेको छ । ती यात्रुमध्ये कम्तिमा ८३ जनामा कोरोना नेगेटिभ देखिएको, १३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको र ३५ को स्वाब परीक्षण गर्नु नपरेको विभागको भनाइ छ ।

फिलिपिन्समा दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको र कुन भेरियन्ट भनेर तय गर्न जिन सिक्वेन्सिङ भइरहेको अलजजिराले बताएको छ । नयाँ भेरियन्ट पुष्टि भएको खबरसँगै मलेसियामा कार्यरत नेपाली मजदुर त्रसित बनेका छन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसिया-प्रशान्त क्षेत्रका मुलुकमा स्वास्थ्य सेवा सुदृढ पार्दै र मानिसहरूलाई पूर्ण खोप लगाउँदै ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संभावित संक्रमणका लागि तयारी गर्न भनेको छ ।