ओमिक्रोन संक्रमित बढेपछि बेलायतमा संकटकाल घोषणा


लन्डन । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा वृद्धि भएपछि बेलायतले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सले ‘ओमिक्रोन संकटकाल’ घोषणा गरेका हुन् ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको लहर आउनसक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । मिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोपको बुस्टर डोज लगाइने पनि बताए ।

बेलायतले यसै सातादेखि बुस्टर डोज दिन सुरु गर्ने जनाएको छ । जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने जनाएको थियो । तर, ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिनाअगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् ।

बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने बैज्ञानिक बताउँछन् । यसबाट अस्पतालमा हुने चाप नियन्त्रण हुने उनीहरुले बताएका छन् । ओमिक्रोनको संक्रमण बढेसँगै बेलायतका अस्पतालमा बिरामीको चाप बढ्न थालिसकेको छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ । तर, यो कति संक्रामक छ भन्ने वैज्ञानिकहरूले यकिन भन्न सकेका छैनन् । यसबारे खोज जारी छ ।

बेलायतमा केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् । तीमध्ये ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि दैनिक ५०० को हाराहारीमा रहेको बताइएको छ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ