गम्भीर संकटमा बच्चन परिवार, ऐश्वर्यासँग ६ घण्टा सोधपुछ


जब पनामा पेपर्स लिक हुन्छ करछली तथा आर्थिक घोटालाका धेरै मामिला बाहिर आउँछन् । जहाँ विश्वभरिका लाखौँ चर्चित नाम विवादमा तानिने गर्छन् । भर्खरै पनामा पेपर्सका कारण बलिउडको चर्चित बच्चन परिवार पनि विवादमा तानिएको छ ।

कानुन प्रवर्तन निर्देशनालय (इडी)ले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई झण्डै ६ घण्टा सोधपुछ गरेको छ । पनामा पेपर्समा नाम जोडिएपछि सोधपुछका लागि निर्देशनालयले ऐश्वर्यालाई पत्र पठाएको थियो । ऐश्वर्याले इमेलबाट दिएको स्पष्टीकरणले काम नगरेपछि उनी दिल्लीस्थित इडीको कार्यालयमै जानुपरेको थियो ।

यसअघि पनि इडीले ऐश्वर्यालाई दुई पटक सोधपुछका लागि बोलाएको थियो । तर, दुवै पटक ऐश्वर्याले इडीको कार्यालय जान अस्विकार गरेकी थिइन् । एक महिनाअघि मात्र अभिषेक बच्चनलाई पनि बोलाएर सोधपुछ गरिएको थियो ।

एक रिपोर्टका अनुसार सन् १९९३ मा अमिताभ बच्चन निर्देशक रहने गरी ४ कम्पनी स्थापना भएका थिए । तीमध्ये ३ कम्पनी बहामासमा रहेका थिए भने एउटा भर्जिन आइल्याण्डमा रहेको थियो । ट्याक्स हेवन कन्ट्री भनेर चिनिने ती देशमा आयको स्रोत खुलाउन नपर्ने र ठूलो रकम करछली हुँदै आएको रिपोर्टले दावी गरेको छ ।

ती कम्पनीमध्ये एउटा अमिक पार्टनर्स प्राइभेट लिमिटेडको निर्देशक ऐश्वर्या रहेकी थिइन् । उनी पछि सो कम्पनीको शेयरहोल्डर बनेकी थिइन् । ऐश्वर्यासँगै उनका पिता के राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि उक्त कम्पनीका शेयरहोल्डर थिए ।

सन् २००८ मा उक्त कम्पनी बन्द भएको थियो । एउटा अनुसन्धानले उक्त कम्पनी नक्कली रहेको र कर छली गर्ने उद्देश्यले मात्र खोलिएको देखाएपछि बच्चन परिवार कठिनाइमा परेको थियो । सन् २०१६ मा लिक भएको पनामा पेपर्सले ४० वर्षदेखि ट्याक्स हेवन देशमा लगानी गर्दै कर छलीको रकमलाई शुद्ध बनाउँदै आएकाहरूको नाम सार्वजनिक भएको थियो ।

त्यसैवेलादेखि बच्चन परिवार विवादमा तानिएको थियो । बच्चन परिवारसँगै उक्त लिस्टमा भारतका मात्रै पाँच सयभन्दा धेरै मान्छेको नाम थियो । जसमा अधिकांश उद्योगपति, कलाकार, खेलाडी तथा नेता छन् । करछलीको आरोप लागेका ती सबै जनासँग सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।

बच्चन परिवार मात्र नभएर अजय देवगन, सोनु सुद, ज्याकलिन फर्नान्डिस, नोरा फतेहीलगायत कलाकार पनि कर छलीको मुद्दामा मुछिएका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार धेरै केस अझै पनि अनुसन्धानकै क्रममा रहेका छन् । एजेन्सी

प्रकाशित : २०७८ पुष ७, बुधबार ०४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ