हेलिकप्टर दुर्घटनामा परेका यि मन्त्रीले १२ घन्टा पानीमा पौडी खेलेर बाँचे


एजेन्सी । पूर्वी अफ्रिकाको टापु मुलुक मादागास्करका एक जना मन्त्रीले १२ घन्टा समुद्रको पानीमा पौडी खेलेर ज्यान जोगाएका छन् ।

द गार्डियनका अनुसार हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका प्रहरी मन्त्री सर्जेइ गेल सोमबार रातभरि समुद्रमा पौडिँदै मंगलबार बिहान तटीय सहरमा आइपुगेका हुन् । मादागास्करका अधिकारीहरूका अनुसार ५७ वर्षीय गेल र एक जना अर्का प्रहरी अधिकारी छुट्टाछुट्टै रूपमा माहाम्बो सहरमा आइपुगेका हुन् ।

सोमबार बिहान मादागास्करको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो जहाज समुद्रमा डुबेको थियो । उक्त घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । मन्त्री गेललगायत अधिकारीहरू उक्त घटनाको निरीक्षण गर्न गएका थिए ।

उनीहरू चढेको हेलिकप्टर कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे खुलाइएको छैन । गेल तटमा आइपुगेपछि सामाजिक सञ्जालमा उनको एउटा भिडिओ सार्वजनिक भएको छ। निकै थकित देखिएका गेलले आफूलाई चिसो भए पनि घाइते नभएको बताएका छन् ।

‘मेरो मर्ने बेला अझै भइसकेको रहेनछ,’उनले भनेका छन् । गत अगस्टमा मन्त्री बन्नुभन्दा अघि गेलले तीन दशकसम्म प्रहरीमा सेवा गरेका थिए । प्रहरीमा काम गरेकाले स्टामिना धेरै भएकाले उनी १२ घन्टासम्म पौडिन सकेको बताइएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार ०७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ