भारतमा एकैपटक १० मन्त्री र २० सांसदमा कोरोना पुष्टि


मुम्बई । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिए ।

उनले कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिए । सरकारले लागू गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ ।

महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए ।

भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।

यसैबीच भारतका सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ मा कोरोना संक्रमण भएको छ । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये एक हजार ४३१ जनालाई कोरोनाको ओमिक्रोन भेरिएन्ट सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् ।

प्रकाशित : २०७८ पुष १८, आईतवार ०६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ