जनकपुरधाम । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनकपुर- जयनगर रेल सञ्चालनका लागि ६० कर्मचारीको तालिम आउँदो सोमबारदेखि सुरु हुने बताएका छन् ।
कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५० जनाको नियुक्ति खारेज गरी ६० कर्मचारी नियुक्त गरिएको छ । जसमा २६ भारतीय र ३४ नेपाली छन् । रेल सञ्चालनका उनीहरूलाई तालिम दिन लागिएको हो ।
१४ भारतीय कर्मचारी नेपाल आइसकेका छन् । अरू कर्मचारी पनि सोमबारभित्रै आउने महाप्रबन्धक झाले जानकारी दिए । उनका अनुसार लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट गरी तत्काल ६० कर्मचारीले काम गर्नेछन् ।
प्रत्येक स्टेसनमा एकरएक टिकट काट्ने कर्मचारी, २२ जना गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारीहरू नियुक्त गरिएको छ । साढे चार लाख टिकट पनि जनकपुर आइसकेको छ ।
चाँडै रेल सञ्चालन हुने उनको भनाइ छ । यद्यपि, उनले रेल सञ्चालनको यकिन मिति बताएनन् । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि शनिबार पुनः परीक्षण समेत गरिएको छ । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।)