कोरोनाले रोकियो प्रधानमन्त्रीको विवाह !


एजेन्सी । पछिल्लो समय संसारभरि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले जनजीवन प्रभावित भएको छ । संक्रमण बढेको छ भने सरकारहरूले प्रतिबन्धात्मक नियमहरू लागु गरेका छन् ।

न्युजिल्यान्डमा भने ओमिक्रोन भेरियन्टले संक्रमण बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह नै रोकिएको छ ।समाचार संस्था रोयटर्सका अनुसार आइतबार संवाददाताहरूसँग कुरा गर्दै आर्डेनले आफ्नो विवाह तत्कालका लागि रद्द भएको जानकारी दिएकी छन् ।

न्युजिल्यान्डमा एउटा विवाह समारोहमा सहभागी भएका ९ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएपछि आइतबार मध्य रातिदेखि नयाँ प्रतिबन्धहरू लागु हुँदैछन् । मास्क अनिवार्य गर्नेदेखि कुनै ठाउँमा १ सय जनाभन्दा बढी भेला हुन नदिने नियम लागु हुँदैछन् ।

नयाँ प्रतिबन्धहरू लागु हुने भएपछि प्रधानमन्त्री आर्डेनले पनि आफ्नो विवाह रद्द गरेकी हुन् । आर्डेनको विवाह कहिले हुन लागेको थियो भन्ने मिति सार्वजनिक गरिएको थिएन तर छिट्टै हुने चर्चा चलेको थियो । आर्डेन लामो समयदेखि कार्ल्क गेफोर्डसँग सम्बन्धमा छन् ।

दुई वर्षअघि प्रधानमन्त्री हुँदै उनीहरूले इन्गेजमेन्ट गरेका थिए । गेफोर्ड टिभी कार्यक्रम प्रस्तोता हुन् । तीन वर्षअघि आर्डेनले छोरी जन्माएकी थिइन् । उनको नाम नेभ ते अरोहा हो । प्रधानमन्त्री हुँदै बच्चा जन्माउने आर्डेन दोस्रो व्यक्ति हुन् । पहिलो व्यक्ति पूर्वपाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टो हुन् ।

प्रकाशित : २०७८ माघ ९, आईतवार १५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ