काठमाडौं । एमजीआर तमिल फिल्मका सुपरस्टार थिए। उनी तमिलनाडुका मुख्यमन्त्री पनि थिए । उनको फ्यान फलोइङले संसारलाई चकित पारेको थियो । फिल्म स्टारका लागि फ्यान यति धेरै पागल हुन सक्छन् भन्ने कुरा उनका फ्यानले उनको समयमा देखाएका छन् ।
एमजीआर अभिनेता हुँदा उनको फिल्मले रेकर्ड तोड्ने गर्दथ्यो। राजनीतिमा प्रवेश गरेपछि उनी मुख्यमन्त्री भए । उनका फ्यानहरूले उनलाई चमत्कारी ठान्थे, फ्यानहरूले एमजीआर बाँझो जमिनमा उभिए भने उर्वर बन्छ भन्ने सोच्थे । यसकारण धेरैले बाँझो जमिनलाई हरियाली बनाउन उनलाई आफ्नो ठाउँमा बोलाउँथे ।
सन् १९८४ मा एमजीआरको मिर्गौला फेल भयो । उनलाई हृदयाघात पनि भयो र स्ट्रोकका कारण अवस्था नाजुक भयो । उनलाई उपचारका लागि न्युयोर्क लगिएको थियो । एमजीआरको अवस्था बिग्रँदै गएको खबर थाहा पाएपछि १३ जना फ्यानले आत्महत्या गरेका थिए ।
एमजीआरलाई यस्तो अवस्थामा देख्नु पनि फ्यानलाई मान्य थिएन । मास हिस्टेरियाका धेरै केसहरू थिए । सोही क्रममा सयभन्दा बढी फ्यानले अस्पताल र घरघरमा टेलिग्राम पठाएर मिर्गौला दान गर्ने इच्छा व्यक्त गरेका थिए ।
उनलाई फ्यानहरुले टेलिग्रामहरूमा डाक्टरहरूलाई धम्कीसमेत दिएका थिए । उनीहरुले भनेका थिए, ‘एमजीआरलाई बचाउनु भएन भने अस्पतालले त्यसको नतिजा भोग्नुपर्नेछ।’
सन् १९८७ मा उनको मृत्यु भयो । ७० वर्षका एमजीआरको निधनको खबरले सम्पूर्ण तमिलनाडुलाई हल्लाएको थियो। उनको मृत्युको खबर सुनेपछि ३० जना फ्यानले आत्महत्या गरेको थिए । लाखौं मानिस उनको शोकमा सडकमा उत्रिएका थिए ।
उनको मृत्युमा मानिसहरू यति दुःखी भए कि तिनीहरूले शोक र क्रोध एकैपटक देखाएका थिए । पीडामा उनका फ्यानले पसल, बस, सवारीसाधन जलाए । यस दंगामा २९ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी गम्भीर घाइते भएका थिए ।
यो दंगा रोक्न सरकारले गोली हान्ने आदेश जारी गर्नुपरेको थियो । एमजीआरको यो अन्त्येष्टि अझै पनि शताब्दीको सबैभन्दा हिंसात्मक अन्त्येष्टि मानिन्छ ।