भारतमा हिन्दीबाहेक तेलेगू, तमिल, मलयालम, कन्नड लगायत भाषामा बर्सेनि उल्लेख्य संख्यामा फिल्म बन्छन्। पछिल्लो समय दक्षिण भारतका विभिन्न भाषामा बनेका फिल्मको लोकप्रियता र बजार क्रमशः बढिरहेको छ।
दक्षिण भारतीय र बलिउड फिल्मको सहकार्य पनि बढेको छ । दक्षिण भारतका थुप्रै उत्कृष्ट फिल्महरू बलिउडमा रिमेक भएका छन् ।
बलिउडजस्तै दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। आज गुड फ्राइडे सिनेमामा हामीले ऐतिहासिक विषयमा बनेको तेलेगू फिल्म सिफारिस गरेका छौं। हिन्दी भाषामा ‘डब’ भएको यो फिल्म युट्युबमा सहजै हेर्न सकिन्छ ।
यो फिल्ममा दुई समयको कथा छ- आजको दशकको र ६० को दशकको । दुवै दशकको मुख्य पात्र एउटै हो। दुई फरक समयमा एउटै व्यक्तिको कथा यो फिल्मले देखाएको छ । तर यो कुनै साइ-फाइ फिल्म होइन ।
यसका मुख्य पात्र हुन् वासु । हैदराबाद सहरमा उनी फिल्म निर्देशक बन्ने ध्याउन्नमा लागिरहेका हुन्छन् । उनले आफ्नो कामको सुरूआत छोटो फिल्मबाट गर्छन् । यसका लागि उनलाई एक युवतीको खोजी हुन्छ । कति गर्दा पनि भेटिरहेका हुँदैनन् ।
एकदिन उनको आँखा कृतिमाथि पर्छ। उनी मनोविज्ञान पढिरहेकी बिन्दास केटी हुन्छिन् । सुरूमा कृतिले वासुको प्रस्ताव मान्दिनन्। विभिन्न तिकडम लगाएर वासु उनलाई मनाएरै छाड्छन् ।
सुटिङ क्रममा उनीहरू नजिकिँदै जान्छन् । त्यसैबीच केही केटाहरूले कृतिलाई दुर्व्यवहार गर्छन् । मारपिटमा वासुको कानबाट रगत बग्छ । त्यसपछि वासुको स्वभाव अर्कै देखिन्छ ।
यो घटनामा कसैले उत्ति साह्रो ध्यान दिँदैन । तर वासुको जीवनमा यसले ठूलो हलचल ल्याउँछ।
एकदिन उनी कृतिसँग रोमान्स गरिरहेका हुन्छन् । यत्तिकैमा उनले ‘रोजी’ नाम पुकार्छन् । कृति रिसाएर उनलाई छाडेर हिँड्छिन् ।
दु:खी भएका वासुलाई साथीले फिल्ममा ध्यान केन्द्रित गर्न भन्छन् । उनको छोटो फिल्म मनपराएर निर्माताले उनीसँग फिचर फिल्ममा काम गर्ने प्रस्ताव राख्छन् । वासुलाई स्क्रिप्ट लेख्न समय दिन्छन् । अन्तिम समयसम्म पनि उनलाई कथा फुरेको हुँदैन। अन्तिम रात भने उनी एकाएक लेख्न बस्छन् र एकैछिनमा सक्छन् ।
यो स्क्रिप्टमाथि बनेको फिल्म सुपरहिट हुन्छ। पहिलो निर्देशनमै सफल भएपछि उनलाई मुम्बईका फिल्म निर्माताहरूले डाक्छन् । उनको फिल्म रिमेक हुने घोषणा भएकै बेला प्रहरी आएर वासुलाई समात्छन् ।
उनीमाथि ५० वर्षअघिको स्क्रिप्ट चोरेको आरोप लाग्छ। श्यामसिंह रोयको चर्चित उपन्यास ‘अस्तित्व’ हुबहु सारेर फिल्म बनाएको आरोपमा श्यामसिंहको परिवारले मुद्दा हाल्छ । तर वासुले कुनै हिसाबले चोरी गरेका हुँदैनन् । श्यामसिंहको किताब हेरेपछि वासु आफैं चकित खान्छन् । आखिर कसरी उनले त्यो किताब हुबहु लेख्न सके ?
श्यामसिंह र वासुको के सम्बन्ध हुन्छ ? रोजी को हुन्छिन् ? के वासुले यो मुद्दाबाट छुटकारा पाउँछन् ? यी सबै घटनाका पछाडि के रहस्य लुकेको छ ?
फिल्म ‘श्यामसिंह रोय’ ले यी सबै प्रश्नको जवाफ दुई फरक समयको कथामा पस्केको छ। दुवै समयलाई यस्तो विन्दुमा ल्याएर भेटाएको छ, जहाँबाट अगाडि के होला भन्ने उत्सुकता दर्शकमाझ हुन्छ । दर्शकको यो खुलदुली फिल्मले भावुक र सुन्दर ढंगमा मेटाउँछ ।
यो फिल्मले तत्कालीन भारतको परिवेश पनि झल्काएको छ । फिल्ममा एक युवा क्रान्तिकारीको विद्रोह छ । समाज बदल्ने हुटहुटी बोकेको युवा लेखकको आक्रोश छ । अनि त्यही युवाको सुन्दर प्रेम फिल्मको मूल खाँबो हो ।
प्रेम, एक्सन, कमेडी, रहस्य र सुन्दर कथा; यी पाँचै कुरा भेटिने फिल्म हो, श्यामसिंह रोय । नानी, साइ पल्लभी, कृति, मडोना सेबास्टियन लगायतको मुख्य भूमिका रहेको यो फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो । सन् २०२० को ‘श्यामसिंह रोय’ बक्स अफिसमा पनि सफल फिल्म हो ।
‘फिल्मफेयर अवार्ड्स साउथ’ मा नानी र साइ पल्लभीले यो फिल्मबाट अवार्ड जितेका थिए ।
https://www.youtube.com/watch?time_continue=371&v=E-DT1LvSHSg&embeds_euri=https%3A%2F%2Fwww.setopati.com%2F&source_ve_path=Mjg2NjMsMTM3NzIxLDEzOTExNywxMzkxMTcsMjM4NTE&feature=emb_title