काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । अहिले उनी बहिनी शेख रिहानासहित हेलिकोप्टरमार्फत भारततर्फ भागेकी छन् । यसपछि सेना प्रमुख वाकर उज-जमानले अन्तरिम सरकार बनाउने घोषणा गरिसकेका छन् ।
गत महिनाबाट सुरु भएको स्वतन्त्रता सेनानी कोटासम्बन्धी आन्दोलन सर्वोच्च अदालतले खारेज गरेपछि आन्दोलन केही दिन साम्य भएको थियो । तर, प्रकाउ परेका विद्यार्थी नेताहरूलाई रिहा नगर्दा र सरकारले त्यसको कार्यान्वयनमा बेवास्ता गरेपछि आइतबारदेखि आन्दोलनले अझ उग्र रूप लिएको थियो ।
सरकारले आइतबार नै अगस्ट ५ (आज)देखि ८ सम्म तीन दिने सरकारी बिदा दिइसकेको छ । सार्वजनिक प्रशासन मन्त्रालयका एक अधिकारी अब्दुल्लाह शिबली सादिकले बीबीसी बंगलालाई एक सूचनामार्फत सरकारी बिदा घोषणा गरिएको जानकारी दिए ।
अर्को सूचना नभएसम्मका लागि सबै डिभिजन सहर, नगरपालिका, नगरपालिका, औद्योगिक क्षेत्र, जिल्ला सदरमुकाम र उपजिल्ला सदरमुकाममा अहिले पनि कर्फ्यू जारी छ ।
राजधानी ढाकासहित देशका विभिन्न स्थानमा झडप हुँदा आइतबार ९० जनाभन्दा बढीको मृत्यु भएको थियो । सोमबार पनि प्रदर्शन चर्किँदा धेरै जनाले ज्यान गुमाइसकेको द डेल्ली स्टारले जनाएको छ ।
यसअघि नै मंगलबारका लागि तय भएको ‘ढाकासम्म लङ मार्च’ कार्यक्रममा आजको लागि सारिएको थियो । सोहीकारण पनि आज बिहानैदेखि राजधानीमा हजारौँको संख्यामा प्रदर्शनकारी उपस्थित भइरहेका थिए ।
सोमबार बिहान प्रदर्शनकारी प्रधानमन्त्री कार्यालय ‘गणभवन’तर्फ अघि बढिरहेका थिए । सोही समयमा आन्दोलनकारीबीच सम्पर्क टुटाउन सरकारले देश पूर्ण रूपमा इन्टरनेट सेवा बन्द गरेको थियो ।
सोमबार दिउँसो प्रहरी तथा सेनासँगको झडपमा केही व्यक्तिहरूको मृत्यु भएपछि आन्दोलनकारी उग्र भएर प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न थालेका थिए । त्यसपछि भवनभित्रै रहेकी शेख हसिना असुरक्षित महसुस गर्दै बाहिरिएकी थिइन् । लगत्तै उनी सेनाको जहाजबाट देश छाडिन् । उनले आकाशबाटै राजीनामा दिएको बीबीसीले जनाएको छ ।
उनी अहिले भारतको शरणमा पुगिसकेको बताइएको छ । अहिले प्रधानमन्त्री कार्यालयमा लुटपाट मच्चिरहेको छ । भवनमा तोडफोड तथा आगलागीको प्रयाससमेत भएको बताइएको छ ।
यता, सेना प्रमुखले पत्रकार सम्मेलन गरेर हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।