भ्यालेन्टाइन हप्ताको पहिलो दिन रोज डे मनाइन्छ । रोज डे हरेक वर्ष फेब्रुअरी ७ मा मनाइन्छ ।
यस दिन आफ्ना प्रियजनहरूलाई गुलाब दिएर आफ्नो माया, मित्रता र भावनाहरू व्यक्त गर्ने गरिन्छ । गुलाबलाई प्रेम र सौन्दर्यको प्रतीक मानिन्छ र विभिन्न रङ्गका गुलाबहरूले फरक–फरक भावनाहरू दर्शाउँछ ।
उक्त दिन विशेष गरी ती व्यक्तिहरूको लागि महत्त्वपूर्ण हुन्छ, जसले आफ्नो मायाको प्रस्ताव गर्न चाहन्छन् ।
आफ्नो क्रश वा साथीलाई पहिलो पटक आफ्नो मायाको प्रस्ताव गर्न गुलाबको फूल दिन सकिन्छ । तर हरेक सम्बन्ध र भावनाको अभिव्यक्तिको लागि फरक–फरक रङ्गका फूलहरू हुन्छन् ।
गुलाबका रङ्ग्ग र अर्थ
रातो गुलाब – रातो गुलाबलाई माया र रोमान्सको प्रतीक मानिन्छ । जब तपाईं कसैलाई रातो गुलाब दिनुहुन्छ, यसको अर्थ हुन्छ कि उप्रति प्रेम, रोमान्स र उसलाई पाउने जोश छ । रातो गुलाब प्रेमी वा प्रेमीका, जीवनसाथी वा जसलाई तपाईं साँचो मायाको प्रस्ताव गर्न चाहनुहुन्छ उनीहरूलाई दिन सक्नुहुन्छ।
सुन्तला रङ्गको गुलाब – सुन्तला रङ्गको गुलाब उत्साह र नयाँ सुरुवातको प्रतीक हो । यसको अर्थ जोश, उत्साह, आकर्षण हो । यदि तपाईं कसैप्रति आकर्षित हुनुहुन्छ र आफ्नो सम्बन्धलाई अघि बढाउन चाहनुहुन्छ भने सुन्तला रङ्गको गुलाब दिन सक्नुहुन्छ ।
पहेँलो गुलाब – पहेँलो गुलाब मित्रता र खुसीको प्रतीक हो । यसले मित्रता, खुसी, सकारात्मकता र नयाँ ऊर्जालाई दर्शाउँछ । रोज डेमा आफ्ना साथीहरू, परिवारका सदस्यहरू वा कसैलाई जससँग तपाईं आफ्नो मित्रता वा स्नेह देखाउन चाहनुहुन्छ, उनीहरूलाई पहेँलो गुलाब दिन सक्नुहुन्छ ।
गुलाबी रङ्गको गुलाब – गुलाबी रङ्गको गुलाब सम्मान र कृतज्ञताको प्रतीक हो । गुलाबी रङ्गको गुलाबको अर्थ कोमलता, मिठास, कृतज्ञता र प्रशंसा हो । रोज डेमा तपाईंले गुलाबी रङ्गको गुलाब आमा–बुवा, शिक्षक, वरिष्ठजनहरू वा कसैलाई जसलाई तपाईं सम्मान गर्न चाहनुहुन्छ, उनीहरूलाई दिन सक्नुहुन्छ ।
सेतो गुलाब – सेतो रङ्ग शान्ति, शुद्धता र नयाँ सुरुवातको प्रतीक हो । विवाह, आध्यात्मिक अवसरहरूमा सेतो गुलाब दिन सकिन्छ । यसबाहेक यदि कसैसँग कुराकानी बन्द छ वा रिसिइबी छ भने उनीहरूलाई सेतो गुलाब दिएर आफ्नो बिचको विवादलाई समाप्त गर्ने प्रयास गर्न सकिन्छ ।