ओस्कार अवार्ड : यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ बन्यो उत्कृष्ट


काठमाडाैं । लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ । समारोहमा सबै २३ विधाका ओस्कार विजेताहरूको घोषणा गरिएको छ ।

यस वर्ष यौनकर्मीको कथामा आधारित रोमान्टिक-कमेडी फिल्म ‘अनोरा’ले प्रभुत्व जमायो । यसले उत्कृष्ट चलचित्रसहित पाँच ओस्कर जित्यो । यस चलचित्रबाट मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

यस्तै, अनोराका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए । जबकि यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ ।

यसैबीच, द ब्रुटालिस्ट अभिनेता एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् । द ब्रुटालिस्टले पनि तीन विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ । डेनियल ब्लमबर्गले यही चलचित्रमा आफ्नो कामको लागि सर्वश्रेष्ठ मौलिक स्कोरको लागि ओस्कर जिते भने सिनेमाटोग्राफीको लागि ओस्कार पनि यही चलचित्रले पायो ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको ओस्कार अवार्ड ‘आइ एम स्टिल हियर’ (ब्राजिल) ले जित्यो । यस्तै, ‘आई एम नट अ रोबोट’ फिल्मले लाइभ एक्सन सर्ट फिल्म विधामा अवार्ड जितेको छ ।

सहायक भूमिकामा ‘अ रियल पेन’बाट किरान कुकिन उत्कृष्ट सहअभिनेताको अवार्ड प्राप्त गरे भने उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जोइ साल्दियाले ‘इमिरिया पिरेज’का लागि प्राप्त गरिन् ।

उत्कृष्ट डकुमेन्ट्री फिचरको अवार्ड ‘नो अदर ल्यान्ड’ले पायो । यस्तै, डकुमेन्ट्री सर्टमा ‘द अन्ली गर्ल इन अर्केस्ट्रा’ तथा एनिमेटेड फिचर फिल्मको अवार्ड ‘फ्लो’ले प्राप्त गरेको छ ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ